विद्युत् प्राधिकरणबाट बिदा भए कुलमान अब को कुलमान जस्तो मान्छे बिधुत प्राधिकरणमा

समाचार

उदयपुर
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले चारवर्षे कार्यकालमा लोडसेडिङ अन्त्यसँगै प्राधिकरणमा प्रशासनिक तथा वित्तीय सुधार ल्याउन सफल भएको बताएका छन् । मंगलबार प्राधिकरणमा भएको बिदाइ समारोहमा बोल्दै घिसिङले चारवर्षे कार्यकालमा प्राधिकरणका वित्तीय सूचकांकहरू धनात्मक बनेको बताएका छन् ।

‘कुनै बेला कर्मचारीको तलब खुवाउन समेत सरकारको मुख ताक्नुपर्ने अवस्थाबाट गुज्रिरहेको प्राधिकरणले पूर्वाधार विकासका योजना बनाउँदा खुट्टा कमाउनुपर्ने अवस्था थियो,’ घिसिङले भने, ‘तर अबका दिनमा उत्पादन, प्रसारण र वितरणको लागि आवश्यक वजेट प्राधिकरण आफैंले पनि व्यवस्था गर्न सक्ने अवस्थामा पुग्नेछ ।’ घिसिङले प्राधिकरणको संस्थागत जमानीमा बहुपक्षीय वित्तीय संस्थाहरूबाट ऋण लिन सकिने अवस्था सिर्जना हुन थालेको बताए । ‘अहिले प्राधिकरणको छविमा सुधार आएको छ,’ उनले भने, ‘आमनागरिकको प्राधिकरणप्रतिको दृष्टिकोणमा परिवर्तन भएकोे छ । प्राधिकरणका कर्मचारीले गर्व अनुभव गर्ने दिन आएको छ ।’

उनले नेतृत्व सम्हाल्दा प्राधिकरणको सञ्चित घाटा ३४ अर्ब ६० करोड रूपैयाँ थियो । अहिले सो घाटा शून्यमा झरेर सञ्चित नाफा कमाउने चार अर्ब ८६ करोड रूपैयाँ संस्था बनेको छ । प्रबन्ध निर्देशक घिसिङले विद्युत् माग र आपूर्तिबीचको सन्तुलित, वैज्ञानिक व्यवस्थापन र इमानदार प्रयासबाट मुलुकलाई लोडसेडिङमुक्त बनाउन सफल भएको बताए । ‘लोडसेडिङ अन्त्य गर्नु मात्र हाम्रो अन्तिम अभिष्ट थिएन । हाम्रो योजना प्राधिकरणको चौतर्फी सुधार र विभिन्न कारणले जीर्ण बनेका तथा अलपत्र अवस्थामा रहेका उत्पादन, प्रसारण तथा वितरणतर्फका आयोजना सम्पन्न गर्नु तथा नयाँ सुरु गर्नु थियो,’ उनले भने ।

घिसिङले जीर्ण बनेका अधिकांश आयोजनाहरू निरन्तरको प्रयासबाट निर्माण सम्पन्न भएको दाबी गरेका छन् । त्यसैगरी, केही सम्पन्न हुने संघारमा रहेका छन् । घिसिङले नेतृत्व सम्हालेको पहिलो वर्ष प्राधिकरणले एक अर्ब ४७ करोड खुद नाफा कमाएको थियो । दोस्रो वर्ष दुई अर्ब ८५ करोड, तेस्रो वर्ष ९ अर्ब ८१ करोड २५ लाख रूपैयाँ र चौथो वर्ष ११ अर्ब ५ करोड नाफा कमाएको थियो ।

चार वर्षअघि ३४ अर्ब ६१ करोड रूपैयाँ सञ्चित नोक्सानी रहेकोमा आव ०७६÷७७ मा प्राधिकरणले सम्पूर्ण सञ्चित नोक्सानीलाई शून्यमा झारी करिब ५ अर्ब रूपैयाँ नाफामा लैजान सफल भएको छ । घिसिङले आफ्नो कार्यकालमा १० प्रतिशत बिन्दुले विद्युत् चुहावट नियन्त्रण गरेको बताए ।

चार वर्षअघि प्रणालीमा रहेको २५.७८ प्रतिशत चुहावट अहिले १५.२७ मा झरेको छ । देशभरका करिब ८६ प्रतिशत जनताले ग्रिडको विद्युत्मा पहुँच पाएका छन् । अफ ग्रिडसहित करिब ९० प्रतिशत जनताले विद्युत् ऊर्जामा पहँुच प्राप्त गरेका छन् । चार वर्षअघि प्रतिव्यक्ति प्रतिवर्ष विद्युत् खपत १३०.७८ युनिट मात्रै रहेकोमा अहिले बढेर २६० युनिट पुगेको छ ।

चार वर्ष अगाडि १४ घन्टासम्मको लोडसेडिङ हुँदा मुलुकभित्रको कुल विद्युत् खपतको करिब ३५ प्रतिशत भारतबाट आयात भइरहेको थियो । विद्युत् खपत करिब ७५ प्रतिशतले बढेको अवस्थामा समेत आव २०७६÷७७ मा कुल उपलब्ध विद्युत्कोे २२ प्रतिशतमात्रै आयात रहेको उनले बताए ।

घिसिङले लामो समयदेखि रुग्ण भएर बसेका माथिल्लो त्रिशूली ३ ए, चमेलिया र कुलेखानी ३ आयोजनाहरू सम्पन्न भएको बताए । निजी क्षेत्रका सहित गरी जम्मा ४५७ मेगावाटका जलविद्युत् आयोजना सञ्चालनमा आएको बताए ।

प्रसारण र वितरण लाइनका रुग्ण आयोजनाहरू सम्पन्न भएका छन् र केही ठूला आयोजनाहरू सम्पन्न हुने चरणमा छन् । उनले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ का कारण प्राधिकरणको राजस्व संकलन प्रभावित भएको र निर्माणाधीन केही आयोजनाहरू लक्षित समयमा पूरा हुन नसकेको बताए । उनले कठिन परिस्थितिमा समेत प्राधिकरणका हरेक गतिविधिमा सहयोग एवं समर्थन गर्ने आमउपभोक्ता, नागरिक समाज, देश विदेशमा रहेका सम्पूर्णलाई आभार व्यक्त गरे ।

बिदाइ कार्यक्रममा प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङलाई बुद्धमूर्ति उपहार दिए । नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष रामेश्वर पौडेलले घिसिङको कार्यकुशलताले प्राधिकरणले आर्थिक रूपमा ठूलो छलाङ मारेको बताए । ‘सरकारले फेरि उहाँलाई पुनः नियुक्त गर्ला भन्ने आशामा बसेका छौं,’ उनले भने, ‘अहिले पहिलो कार्यकालबाट बिदाइ गर्दैछौं । अबको १५ दिनभित्र फेरि स्वागत गर्न पाइयोस् ।’
स्रोत नागरिक दैनिक
यो पनि हेर्नुहोस तपाइको लागि महत्वपुर्ण छ भिडियो..

Leave a Reply

Your email address will not be published. Required fields are marked *