सामाजिक विकास मन्त्रालयका कर्मचारीलाई कोरोना

स्वास्थ्य

उदयपुर,
प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयका एक कर्मचारीमा कोरोना भाइरस पुष्टि भएको छ । कोरोना नियन्त्रणमा क्रियाशील स्वास्थ्य महाशाखाका एक कर्मचारीमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोदकुमार गिरीले जानकारी दिए ।

मन्त्रालयको स्वास्थ्य महाशाखाकै अधिकारीमा कोरोना देखिएपछि सामाजिक विकासमन्त्री सुदर्शन बरालका साथै अन्य कर्मचारीको समेत स्वाब परीक्षण गरिएको छ । मन्त्री बरालको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको प्रमुख गिरीले बताए । मन्त्रालयका अन्य कर्मचारीको पनि स्वाब संकलन गरिएको जनाइएको छ ।

प्रदेश नं ५ का विभिन्न जिल्लामा समुदायमा कोभिड–१९ बढ्दै गएको छ । रुपन्देहीमा आज पाँच जना सङ्क्रमित थपिएका छन् । बुटवलमा समुदायस्तरबाट आएको स्वाब परीक्षण रिपोर्टमा एक महिलासहित पाँच जनामा कोरोना भाइरस पुष्टि भएको छ । रुपन्देहीमा कोभिड–१९ सङ्क्रमित ४०६ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए ।

उनका अनुसार बुटवल उपमहानगरपालिकाकी २६ वर्षीया महिला र ३५, २८, २३, २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । नेशनल प्याथ ल्याबबाट एक र प्रादेशिक अस्पतालको ल्याबबाट चार जनामा कोरोना देखिएको छ । सङ्क्रमितको सामान्यावस्था छ ।

कोरोना बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आलोपालो प्रणालीमा सेवा दिने भएको छ । यही साउन ३० गतेदेखि अर्को सूचना जारी नहुञ्जेल जिल्लामा भएका १६ पालिकाका जनतालाई आलोपालो प्रणालीमा सेवा दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले जानकारी दिए ।

प्रजिअ पन्थका अनुसार आइतबार सिद्धार्थ नगरपालिका तथा मर्चवारी र कञ्चन गाउँपालिकावासीलाई सेवा दिइनेछ । यसैगरी सोमबार तिलोत्तमा र लुम्बिनी साँस्कृतिक नगरपालिकावासीलाई सेवा दिइनेछ । मङ्गलबार देवदह नगरपालिका तथा ओमसतिया र कोटहीमाई गाउँपालिका एवं बुधबार बुटवल उपमहानगरपालिका तथा सियारी र समरीमाई गाउँपालिकावासीलाई सेवा दिइनेछ ।

बिहीबार सैनामैना नगरपालिका तथा गैडहवा र रोहिणी गाउँपालिकावासीलाई सेवा दिइनेछ । शुक्रबार मायादेवी र शुद्धोधन गाउँपालिकावासीलाई प्रशासनिक सेवा दिने गरी जिल्ला प्रशासन कार्यालयले तालिका बनाएको छ ।

यसैबीच आज जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्लास्तरीय सङ्कट व्यवस्थापन समितिको बैठकले बुटवलमा लकडाउन र अन्य ठाउँमा कडाइ गर्ने निर्णय गरेको छ । उक्त बैठकले धार्मिक क्रियाकलाप घरमै गर्ने, चाडपर्व घरमै मनाउने तथा शैक्षिक संस्था बन्द र सवारी पास वितरण बन्द गर्ने निर्णय गरेको हो ।

बैंकका चार कर्मचारीमा कोरोना
बर्दियामा थप आठ कोरोना सङ्क्रमित थपिएका छन् । बैंकका चार कर्मचारीसहित आठ जनामा कोरोना भाइरस देखिएको भेरी अस्पताल नेपालगञ्जले जनाएको छ । अस्पतालले बिहीबार सार्वजनिक गरेको विवरणानुसार बाँसगढी नगरपालिका– ५ का तीन, वडा नं ८ का दुई र वीरेन्द्रनगर सुर्खेत घर भएका तीन जनामा कोरोना पुष्टि भएको हो । तीमध्ये एक महिला र सुर्खेत घर भएका तीन जना बैंकका कर्मचारी रहेको स्वास्थ्य कार्यालयका कोरोना स्थानीय स्रोत व्यक्ति कृष्णगोपाल चौधरीले बताए । यससँगै बर्दियामा कोरोना सङ्क्रमित २७७ पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *