नेपाल–भारत सीमाको स्ट्रीप नक्साबारे सत्यतथ्य जानकारी गराउन सरकारलाई निर्देशन

समाचार

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल–सीमा निर्धारण गर्ने स्ट्रीप नक्साको अध्ययन गरी सत्यतथ्य जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ ।
बुधबार बसेको समितिको बैठकले नेपाल–भारत संयुक्त सीमा अध्ययन टोलीअन्तर्गत नेपाली टोलीले तयार पारेको स्ट्रीप नक्साको अध्ययन गरी सत्यतथ्य जानकारी गराउन निर्देशन दिएको छ ।

समितिले कञ्चनपुर लगायत भारतसँग सीमा जोडिएका देशका विभिन्न सीमावर्ती जिल्लाको स्थलगत अध्ययन गरेर तयार पारिएको स्ट्रीप नक्सा र सीमा सम्बन्धमा अध्ययन गरी जानकारी गराउन भनेको हो ।

समितिले गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयका मन्त्री र अधिकारीहरुसँग छलफल गरेपछि बुधबार सोसम्बन्धमा जानकारी गराउन निर्देशन दिएको हो ।

समिति सभापति शशी श्रेष्ठले स्ट्रीप नक्सा र सीमा सम्बन्धी समग्र विषयमा विवाद आएकाले त्यससम्बन्धमा के भएको भन्ने यथार्थ विषय जानकारी गराउन निर्देशन दिइन् ।

कूटनीतिक पहलबाट विवाद समाधान गरिन्छ– गृहमन्त्री

समितिको बुधबारको बैठकमा बोल्दै गृहमन्त्री रामबहादुर थापा (बादल)ले नेपाल–भारत सीमा विवाद दुईपक्षीय समझदारी र कूटनीतिक पहलबाट समाधान गर्न सकिने बताएका छन् ।

समितिको बैठकमा मन्त्री थापाले परराष्ट्र मन्त्रालयले दुई पक्षीय छलफलमार्फत समस्या समाधान गर्न सक्ने बताए । सीमा सुरक्षासम्बन्धी विशेष व्यवस्था गर्न आवश्यक रहेको उनको भनाइ छ ।

संसदीय समितिले पनि स्थलगत निरीक्षणलगायत काममार्फत समस्या हल गर्न लाग्नुपर्ने उनले बताए । ‘हामी सबैले चौतर्फी रुपमा पहल गर्दा मात्रै समस्या समाधान हुनसक्छ,’ मन्त्री थापाले भने ।

गृहमन्त्री थापाले छिमेकीको सीमा अतिक्रमण गर्ने नीति र चिन्तन रहेको पाइएको पनि बताए ।

पिलर फाल्ने वा सार्नेलगायत काम भइरहेको उनले बताए । सीमाका बारेमा स्थायी रुपमा संयन्त्र बनाएर त्यसले समयसमयमा त्यसको पुनरावलोकन गर्नुपर्ने उनको भनाइ छ ।

भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सरकारले सीमा निरीक्षण र अनुमगमनको काम नियमित रुपमा गरिरहेको बताइन् ।

सीमामा रहेका पिलरमध्ये कति राम्रो अवस्थामा छन् कति भत्किए र कति हराए भन्ने समेत अध्ययन भइरहेको उनको भनाइ छ ।

दशगजा क्षेत्रमा सीमाको विवाद नभए पनि भोगचलनसम्बन्धी समस्या रहेको उनले जानकारी दिइन् ।

परराष्ट्र सचिव शङ्करदास बैरागीले मङ्सिरमा गठन भएको सीमा निरीक्षण समितिले प्रतिवेदन तयार गरेको बताए ।

सीमामा रहेका समस्यामा विषयमा आगामी दिनमा सानो समूहमा छलफल गरेर अघि बढिने उनको भनाइ छ । समितिमा कञ्चनपुरका स्थानीयवासी सम्मिलित अन्तर्राष्ट्रिय सीमा समितिले सरकारलाई त्यहाँको सीमामा रहेका समस्या र त्यसको समाधानका उपायका बारेमा बताएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *