म्यान्मारमा निषेधाज्ञा तोड्दै प्रदर्शन

अन्तरास्ट्रिय समाचार

म्यान्मारस्थित अमेरिकी दूतावासले लोकतन्त्रवादी नेतृ आङ सान सुचीसँग भेट्न गरेको अनुरोध सैनिक सरकारद्वारा अस्वीकार

यांगुन/नेइपिडअ — सैनिक ‘कु’ को विरोधमा म्यान्मारमा लोकतन्त्र पक्षधरहरूले मंगलबार निषेधाज्ञा तोड्दै प्रदर्शन गरेका छन् । सोमबार रातिदेखि जारी गरिएको कर्फ्यु तथा ५ जनाभन्दा बढी एकै स्थानमा भेला हुन नपाउने नियमका बाबजुद राजधानी नेइपिडअ, मुख्य सहर यांगुन, म्यान्डले बागोलगायतमा मंगलबार विरोध प्रदर्शन जारी छ । ती सहरहरूमा दसौं हजार प्रदर्शनकारीहरू सडकमा उत्रेर सैनिक शासनको विरोध गरेका छन् । पछिल्ला प्रदर्शनमा युवाको उल्लेख्य सहभागिता रहेको जनाइएको छ ।
नेइपिडअमा मंगलबार भएका प्रदर्शनमा प्रहरी अधिकारीहरूले चेतावनीस्वरूप हवाई फायर गर्नुका साथै पानीका फोहरा हानेका छन् । त्यसलगत्तै प्रहरीले रबरका गोली हानेका एक प्रदर्शनकारीलाई उल्लेख गर्दै समाचार संस्था एएफपीले जनाएको छ । पानीका फोहरा तथा रबरको गोलीका कारण घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । प्रहरीले दमन सुरु गरेपछि भने प्रदर्शनकारीले ‘सैनिक तानाशाह अन्त्य गर’ भन्दै नाराबाजी गरेका थिए । सेना प्रमुख मिन आङ ह्लाइङले सोमबार राति देशवासीका नाममा सम्बोधन गरेका छन् ।

राज्य नियन्त्रित टेलिभिजनबाट सम्बोधन गर्दै उनले संविधानअनुसार नै शासनसत्ता नियन्त्रणमा लिएको दाबी गरेका बीबीसीले जनाएको छ । ‘देशलाई सही मार्गमा लैजान सेनाले कदम चालेको’ दाबी गर्दै ह्लाइङले सैनिक कदमको समर्थन गर्न जनतालाई आग्रह गरेका छन् । सम्बोधनका क्रममा उनले नोभेम्बरको चुनावमा भएका धाँधलीबारे निष्पक्ष छानबिन गरिने तथा वर्ष दिनभित्र चुनाव गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गरिने जनाएका छन् । देशका प्रमुख सहरहरूमा भएको प्रदर्शनसँगै नागरिक अवज्ञा पनि सुरु भएको छ । चिकित्सकहरूले सुरु गरेको नागरिक अवज्ञामा विभिन्न मन्त्रालय तथा विभागका हजारौं कर्मचारीसमेत सहभागी भएका छन् । तीमध्ये अधिकांशले काम बहिष्कार गरेका बीबीसीले उल्लेख गरेको छ । सरकारी सञ्चारमाध्यममा कार्यरत केही सञ्चारकर्मीले पनि काम बहिष्कार गरेका छन् । नागरिक अवज्ञा आह्वानअन्तर्गत काम बहिष्कार गर्नेलाई सरकारले जागिर बर्खास्त गरे उनीहरूलाई आर्थिक सहयोग गर्नका लागि छुट्टै कोष बनाइएको अधिकार्मीहरूले बताएका छन् । नेइपिडअमा मंगलबार एक प्रहरी अधिकारीले नागरिक अवज्ञा गर्दै प्रदर्शनकारीसँग मिलेका छन् ।

सैनिक मुख्यालय अगाडि गरिएको विरोध प्रदर्शनमा प्रहरीले भीडलाई तितरबितर पार्न पानीको फोहरा प्रयोग गरिरहेको बेला उनले आफू प्रजातन्त्रका लागि प्रदर्शनकारीसँग मिलेको जनाएका हुन् । त्यसैगरी, यांगुन विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीले अमेरिकी दूतावासअगाडि सैनिक सरकारको विरोधमा प्रदर्शन गरेका थिए । म्यान्मारस्थित अमेरिकी दूतावासले आङ सान सुचीसँग भेट्न गरेको अनुरोध सैनिक सरकारले अस्वीकार गरिदिएको छ । यसअघि म्यान्मारस्थित अमेरिकी दूतावासले सेनालाई सत्ता परित्याग गरी लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित सरकारको पुनर्वहाली गर्न, नजरबन्दमा रहेका नेताहरूलाई रिहा गर्न र सञ्चार क्षेत्रका अवरोध हटाउन आग्रह गरेको थियो । लोकतान्त्रिक ढंगबाट चुनिएको सरकारको पक्षमा जनताले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकारको पक्षमा अमेरिका रहेको दूतावासले ट्वीटमार्फत जनाएको थियो ।

प्रदर्शनकारीहरूले सैनिक नियन्त्रणमा रहेकी लोकतन्त्रवादी नेतृ आङ सान सुचीसहित उनको दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) नेताहरूको रिहाइको माग गरिहरेका छन् । सोमबार साँझसम्म करिब डेढ सय जना नियन्त्रणमा रहेको जनाएको भए पनि मंलबार थप केही अभियन्ता, मावन अधिकारकर्मी, नेता तथा प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको एनएलडीले जनाएको छ । म्यान्मारमा गत नोभेम्बरमा भएको चुनावमा एनएलडीले ८० प्रतिशतभन्दा बढी मत ल्याएको थियो । तर उक्त चुनावमा व्यापक धाँधली भएको सेनाको दाबी छ । सैनिक ‘कु’ सँगै सेनाले नेतृ सुची तथा राष्ट्रपति विन मिन्टलाई नियन्त्रणमा लिएको थियो । सुचीको पछिल्लो अवस्थाबारे सैनिक नेतृत्वले आधिकारिक रूपमा हालसम्म कुनै जानकारी गराइसकेको छैन । स्रोत रासस
आफ्नै मोबाइलबाट पैसा पठाउने तरिका सिक्नुहोस तलको भिडियो हेरेर

Leave a Reply

Your email address will not be published. Required fields are marked *