June 20, 2021

च्यालेन्ज नेपाल

सत्य तथ्य र निष्पक्ष्य समाचार को लागी

बन्द भए धनबहादुर दाजुका मिर्मिरे आँखा

बन्द भए धनबहादुर दाजुका मिर्मिरे आँखा

सरकारी जागिर मिल्यो, तर छाडेर भागे । लाहुरेको अफर थियो, खान्न भनेर फर्के । आर्थिक संकट हुँदासमेत हुँदाखाँदाको जागिर र लाहुरे हुने अफर किन छोडेर हिँडेको त ? ‘जागिर खाएको भए धनी हुन्थें, अरु के हुन्थ्यो ? यो प्रश्न आफैंलाई पनि गर्थे । एक वर्षअघि कुराकानीमा धनबहादुरले भनेका थिए, ‘मलाई लोकभाका, संगीत, संस्कृति मन पर्थ्यो ।’त्यसैले त धनबहादुर कहिले सांरगीका धुनमा सुनिए । कहिले मादलको घिन्ताङसँगै घन्किए । कहिले लोकभाका टपक्क टिपेर दिए र लाखौंका ओंठहरुमा गुञ्जिए । कहिले खुट्टा फालेर उठीबसी नाचिरहेको भेटिए । कहिले चलचित्रका पर्दामा । कहिले नाटकका पात्रमा । कहिले स्कुलमा । कहिले संगीतका पाठशालामा । कहाँ भेटिएनन् धनबहादुर ? पोखरामा संस्कृति, संगीत, वाद्यवादन, मौलिक नृत्यका विशेष कार्यक्रम होस् वा सानाठूला मेला महोत्सवमा भेटिइरहे धनबहादुर गायक ।दौरा सुरुवाल, स्टकोट, ढाकाटोपी त कहिले सेतो सर्ट, कालो पाइन्ट, कोट र कालै जुत्तासँगै रातो मफलर गलामा गुथेर विशेष मञ्चहरुमा छाइरहे धनबहादुर । छेउ-छाउमा प्राय नयाँ पुस्ताका कलाकारसहित धनबहादुरले पोखरामा विभिन्न प्रस्तुति दिइरहे ।एउटै व्यक्तिमा यति धेरै ऊर्जा आउनुका पछाडिको कारण के होला ? उनलाई केही प्रश्नहरुले लेखेटिरहृयो । किन मलीन हुँदै गइरहेको छ, सारंगीको धुन ? पूर्खाकै हातबाट कसरी खिइयो कर्खाको संगीत ? किन नयाँ पुस्ताले घन्काउँदैनन् मादल ? किन हराउँदै गइरहेको छ मालश्री धुन ? जब बुझ्ने भए धनबहादुरको मनमा यस्तै यस्तै प्रश्न उठिरहृयो ।तिनै प्रश्नहरुको खोजी गर्दा गर्दै धनबहादुर ‘यो दाजुको मिर्मिरे आँखा’ गीतमा लयवद्ध भए । जुन नेपाली लोक संगीतको क्षेत्रमा प्रवीण गुरुङ र बिमाकुमारी दुराको आवाजसँगै सर्वाधित रुचाइएको गीत बन्यो । ‘यो मायालाई हिजै हो देखेको, देब्रे गाला चन्द्रमा लेखेको, फूल मायामा नभुल’ अर्को चर्चित गीतको लय, संगीत तथा रचना पनि उनै धनबहादुरले नै सिर्जना गरे । जसमा उनै प्रवीणले स्वर भरे ।

कहिले सिर्जनामा ‘बेली र चमेली’ समेटे, अहिले ‘घर राम्रो मकैको सुलीले’ भन्दै गाउँको मौलिक बिम्वलाई गीतमा उतारे । पानीको कलधारा बेइमानीको संगतै नगर बिग्रेला घरबार, चन्दन-ज्यान पर्‍यो बन्धन लगायत मौलिक शब्द खोजेर धनबहादुरले लय भरे । मौलिक लोकभाका, लोक संस्कृति, नृत्यकै हुटहुटीले झलकमान गन्धर्व पाठशाला खोले । धनबहादुर निरन्तर साधनामा लागिरहे ।उनी लोकभाकाका चर्चित सर्जकमात्रै होइनन्, उनले थुप्रै चलचित्रमा नृत्य पनि गरेका छन् । सिन्दुर, कान्छी, सन्तान, के घर के डेरा, फेरि भेटौंला, पहिलो प्रेम, अग्नि परीक्षा जस्ता चलचित्रमा नृत्य गरे ।पोखरा बाटुलेचौरतिर खुबै गाइने लोक भाका थियो, यो । त्यही लोकलयलाई टपक्क टिपेर रेडियो नेपालमा रेकर्ड गरायो, त्यो पनि ११ वर्षीय बालकले । गीत सकिएपछि गायक तथा चर्चित प्रस्तोता पाण्डव सुनुवारले बालकलाई धाप मार्दै भने, ‘ल केटा गीत त गजबै गाइस् । तैंले गरिखान्छस् ।’यो २०३१ सालतिरको कुरा हो । पोखराबाट भागेर नेपाल (काठमाडौं) पुगेको बालक झलकमान गन्धर्वलाई पछ्याउँदै रेडियो नेपालमात्रै छिरेन, यस्ता ३ वटा गीत नै रेकर्ड गरायो । त्यो बेला एउटा गीतको २० रुपैयाँका दरले ६० रुपैयाँ दिने भनियो । त्यसमा पनि २०/२० थपेर १ सय रुपैयाँ थमाउँदै उनै पाण्डव सुनुवारले भने, ‘ल केटा हो पैसा लिएर पोखरा फर्क ।’ती बालक थिए, पोखरा बाटुलेचौरका धनबहादुर र बेगनास तालका बेनबहादुर गन्धर्व । उनीहरु काठमाडौं पुग्नुका पछाडि पनि अर्को रोचक किस्सा थियो । धनबहादुर, बेनबहादुर र रामबहादुर गन्धर्व पोखरा बसपार्कमा सारंगी बजाउँदै रहेछन् । एकजना गाडी चालकले गीत गाउन लगाएर भनेछन्, ‘म तिमीहरुलाई काठमाडौं लैजान्छु ।’उनीहरुले गीत त गाए तर ड्राइभरले अर्को सर्त राखे । ड्राइभरले भने, ‘ल तिमीहरु दौडेर जो छिटो गाडीमा छिर्छ, ऊ मसँग काठमाडौं जान पाउँछ ।’ सबैभन्दा पहिले धनबहादुर गाडीभित्र छिरे, दोस्रोमा बेनबहादुर । रामबहादुर दौडिँदै गर्दा लडे । ड्राइभरले उसलाई लैजान इन्कार गर्‍यो र ऊ छुट्यो । धनबहादुरकै भाषामा दौड जितेको उपाधि स्वरुप ड्राइभरले सुन्धारामा लगेर ओरालिदियो । सुन्धराबाट झलकमान भेट्न रेडियो नेपाल पुगेका २ केटाले ‘चिठ्ठा’ मा गीत नै रेकर्ड गराउने अवसर पाए ।