July 28, 2021

च्यालेन्ज नेपाल

नयाँनयाँ घटनाको ताजा जानकारीको लागी च्यालेन्ज नेपाल

भेटियो अचम्मको स्कुल जहाँ सिकाइन्छ हलो जोत्न, मोही पार्न, गुन्द्री बुन्न…

स्कुल जहाँ हलो जोत्न, जाँतो पिस्न, मोहो पार्न, गुन्द्री बुन्न मात्रै होइन, मकै भुट्न, दुनाटपरी गाँस्न पनि सिकाइन्छ। यस्तो कहाँ होला?
तनहुँको एक सामुदायिक स्कुलले गतवर्षदेखि नै आफ्ना विद्यार्थीलाई परम्परागत प्रविधिबारे जानकारी दिँदै जीवन उपयोगी सीप सिकाइरहेको छ।

व्यास नगरपालिका –१, दमौलीस्थित निर्मल उच्च माध्यमिक विद्यालयले सामाजिक, नैतिक र विज्ञान विषयमा आधारित रहेर विद्यार्थीलाई यस्तो सीप सिकाएको हो। विद्यालयका प्रध्यानाध्यापक गणेश बस्नेतका अनुसार विद्यार्थीको पढाइ र वास्तविक जीवनलाई जोड्न यस किसिमको सिकाइ आवश्यक छ।

‘हामीले स्कुलमा पढेका कुरा मात्रै जीवनमा लागू हुनुपर्छ भन्ने होइन। गाउँ घरमा प्रयोग हुने, जीविका चलाउने सीपलाई पनि स्कुलले प्राथमिकता दिन जरुरी छ,’ परम्परागत सिकाइबारे बताउँदै उनले भने, ‘हाम्रा हजुरबुवा-हजुरआमाले गरेका कामलाई पछिल्लो पुस्ताले बुझ्न, चिन्न जरुरी छ।’
गत वर्षदेखि स्कुलले कक्षा ७, ८ ,९ र १० का विद्यार्थीलाई यस किसिमका व्यावहारिक शिक्षा सिकाउँदै आएको हो। ब्रिटिस काउन्सिल लाइब्रेरीले उपलब्ध गराएको विशेष प्रोजेक्ट मार्फत् स्कुलले यस्ता क्रियाकलाप सञ्चालन गरेको प्राध्यापक बस्नेतले जानकारी दिए।
ब्रिटिस काउन्सिल लाइब्रेरीलाई अनुरोध गरेपछि प्रोजेक्ट पाएका हौं। यस्ता कार्यक्रम विश्वका विभिन्न देशका स्कुलमा समेत लागू हुने रहेछ। हामी अझै आधुनिक भएका छैनौं, यसकारण पनि परम्परागत सिकाइ जानिराख्नु आवश्यक छ,’ प्रध्यानाध्यापक बस्नेतले भने।

अहिलेसम्म निर्मल उच्च माविले ७ वटा विभिन्न शीर्षकमा प्रयोगात्मक शिक्षण सिकाइ सञ्चालन गरिरहेको विद्यालयका शिक्षक तथा कार्यक्रम संयोजक महेन्द्र न्यौपानेले जानकारी दिए। न्यौपानेका अनुसार परम्परागत सीप तथा ज्ञान दैनिक प्रयोगमा ल्याउन नसके पनि जानकारी दिन र नयाँ पुस्तालाई चिनाउन सकिन्छ।

‘हामीले केही वर्षमै पुराना प्रविधि भुलिसकेका छौं। सहरमा बसेका नयाँ पुस्ताले त फोटोमा मात्रै देखेका छन्। प्रयोग नआएपछि भुल्न सजिलो छ,’ सिकाइको आवश्यकता बताउँदै संयोजक न्यौपानेले भने, ‘हलो जोत्ने परम्परा हराउँदै गएकाले पहिले कसरी खेतीपाती हुन्थ्यो भनेर विद्यार्थीलाई नै राखेर सिकायौं। यो निकै प्रभावकारी देखियो।’
कतिपय अवस्थामा अहिले पनि परम्परागत सीप प्रयोग गर्न सकिन्छ भनेर विद्यार्थीलाई बुझाउन प्रयासरत रहेको विद्यालयको भनाइ छ। प्रयोगात्मक सिकाइ अन्तरगत विद्यार्थीले हाँडीमा मकै भुट्न, जाँतोमा पिसेर सातु बनाउन र आफैंले बुनेको सालको पातको टपरीमा राखेर व्यापारसम्मको ज्ञान लिए।
यसरी आफैंले काम गर्न पाउँदा विद्यार्थी निकै उत्साहित छन्। पुराना प्रविधिका ज्ञान नयाँ पुस्तामा बाँड्ने हाम्रो प्रयास सफल भएको मानेका छौं,’ उनले भने, ‘दही मोथेर मोही र नौनी निकाल्दाको दृष्य केटाकेटीलाई निकै रमाइलो लाग्यो। धेरै विद्यार्थीले आफूलाई नौलो लागेको बताए। पहिल्यै थाहा पाएका एकाध विद्यार्थी खुसी भए।’

स्थानीय सीप तथा ज्ञान सिकाइ कार्यक्रम अन्तरगत नै विद्यालयले दुइटा विल्कुलै नौलो प्रयोग गर्दैछ।
पहिलो, स्थानीय चाडपर्वका बेला खाइने परिकारको परिचय, र बनाउने विधि।

दोश्रो, स्थानीय भाषा र विश्वभर प्रयोग हुने सम्बोधन, सांकेतिक सम्बोधन।

‘बाहिरी खानाले हाम्रो भान्सा ओगटेको छ। फुलौरा, खिर्चो (खिचडी), लट्टे, रोटीहरू पाक्न छाडिसक्यो। नयाँ पुस्ताले यसको स्वाद नै नपाउलान् भन्ने छ,’ नयाँ योजनाबारे बताउँदै उनले भने, ‘अब यस्ता मौलिक खानाबारेमा चिनाइन्छ र पकाउन सिकाइन्छ।’

दराइ र मगर समुदाय बहुल ठाउँमा उनीहरूकै भाषा प्रयोगमा नआएको न्यौपानेले बताए। दोश्रो योजनाबारे बताउँदै उनले भने, ‘दराइ र मगर भाषालाई सिधै अंग्रेजीसँग जोड्नेगरी सिकाइ अघि बढाइरहेका छौं।’
हराउँदै गएको नमस्कार चलन कोरोना महामारीपछि संसारका केही देशमा समेत चर्चामा आयो। नमस्कार गर्ने चलनलाई विभिन्न समुदायसँग जोडर यस सम्बन्धी जानकारी दिनेसमेत विद्यालयको योजना छ।

साथै अन्य देशमा गरिने सम्मानको सांकेतिक भाषाबारे निर्मल उच्च माविका विद्यार्थीले जानकारी पाउनेछन्। यसका लागि विद्यालयले बेलायत, कोरिया, जापान, भारत लगायत देशका विद्यालयसँग समन्वय गरेको न्यौपानेले जानकारी दिए।
हिन्दू संस्कारभित्रै आफन्तलाई गरिने नमस्कार फरक–फरक हुन्छ। त्यस्तै अन्य समुदायमा अलग्गै भावमा नमस्कार गरिन्छ,’ न्यौपानेले आगामी योजना सुनाउँदै भने, ‘यस्ता कुरा सामान्य देखिए पनि आफ्नै महत्वका हुन्छन्। भोलि अर्को समुदायमा पुग्दा अलमल हुने स्थिति आउँदैन। हाम्रा विद्यार्थीलाई यो रोचक विषय हुनसक्छ।’

२०२५ सालमा स्थापना भएको निर्मल उच्च माविको भौतिक अवस्था र पढाइ गुणस्तर हेर्दै सरकारले नमूना विद्यालयको सूचीमा समेत राखको प्राध्यापक बस्नेतले जानकारी दिए। अघिल्लो वर्षको तथ्यांकअनुसार स्कुलमा ५८ जना शिक्षक तथा कर्मचारी र ९ सय ३३ विद्यार्थी अध्ययनरत छन्।

स्रोत अन्लाइन समाचार एजेन्ट