June 20, 2021

च्यालेन्ज नेपाल

सत्य तथ्य र निष्पक्ष्य समाचार को लागी

भुँइ’चालोपछि ठमेल बाहिर, कोरोनापछि विदेशमा फैलिँदै ‘सोनम’

आजभन्दा १६ वर्षअघि हाम्रो पर्यटन बजार लगभग स्थिर थियो। वर्षमा दुई-चार लाख विदेशी पर्यटक आउँथे। धेरैजसो पर्यटकको घुमफिरको गन्तव्य हुन्थ्यो पर्वतीय क्षेत्र।

त्यतिबेला पर्यटक केन्द्रित होटल तथा रेस्टुरेन्ट ‘ग्ल्यामर’ व्यवसाय मानिन्थे। तर ट्रेकिङ तथा पर्वतारोहणमा जानेका लागि आवश्यक कपडा तथा अन्य सामग्रीको मुख्य गन्तव्य ठेमलमा व्यवसाय फस्टाएको थिएन।

त्यहाँ विदेशी तथा नेपाली सबैका लागि विदेशी ठूला ब्रान्डेड कपडाकै रजगज थियो। समयले कोल्टे फेर्न कति बेर लाग्छ र!

विस्तारै पर्यटकीय नगरी ठमेलमा विदेशबाट कपडा ल्याउने र यहीँ सिलाएर बिक्री गर्ने व्यवसाय फस्टाउन थाल्यो।
त्यही मेसोमा मिसिए टासी चोम्बे नेपाली।

पहिले गार्मेन्ट उद्योगमा मजदुरी गरेका टासीलाई धेरथोर कपडा व्यापारको अनुभव थियो। शेर्पाहरूसँगको चिनजान तथा पहिचानका कारण ठमेलको बजार पनि केही बुझेका थिए।
यो व्यापार कठिन पनि थिएन। विदेशबाट सहजै कपडा ल्याउन सकिन्थ्यो। यहाँ कुनै सिलाउने ठाउँमा दिएर ज्याकेट, ट्राउजरदेखि टिसर्टसम्म बनायो। कुनै चलेको ब्रान्डको लोगो टाँस्यो, पसलमा ल्यायो, बेच्यो। नाफा राम्रै हुने।

‘मजदुरी गरेर आएको मान्छे व्यवसायमा लागेको थिएँ। त्यो बेला मेरा लागि आम्दानी राम्रै थियो,’ टासीले सेतोपाटीसँग भने।
उनले यसरी छ वर्षजति व्यापार गरे। तर नाफाले मात्र कहाँ खुसी दिन्छ र? उनले आफैं बेचेका सामानको गुणस्तरबारे प्रश्नहरू सामना गर्न थाले। तनाव बढ्न थाल्यो।

प्रत्येक उत्पादनमा गुणस्तरको प्रश्नले घेरिन थालेपछि उनले सोचे- यसरी कहिलेसम्म चल्छ व्यापार?

उनलाई आज नाफा भए पनि भोलि यो सबै सकिन्छ भन्ने लाग्यो।

‘प्रत्येक लटमा धेरै गुनासो आउन थाल्यो। त्यतिबेला कमाइ राम्रो भए पनि भविष्य राम्रो लागेन। त्यसैको समाधान निकाल्न आफ्नै ब्रान्डमा गुणस्तरीय उत्पादन गर्ने योजना बनाएँ,’ उनले भने।

टासीको त्यही निर्णयबाट दस वर्षअघि जन्मियो ब्रान्ड ‘सोनम गियर्स’।
सधैं एउटै गुणस्तरको सामान बजार पठाउने उनको योजना सफल भयो। तर व्यापार तत्काल सफल हुने छाँट थिएन। नयाँ नामको उत्पादन बजारमा आएपछि बिक्री बढ्ने सम्भावना न्यून थियो जुन स्वभाविक हो। एकातिर लागत बढेको छ, उत्पादन महँगो भएको छ। अर्कोतिर बहुराष्ट्रिय ब्रान्डको बलियो उपस्थितिमा प्रतिस्पर्धा कसरी गर्ने?

उनले सोनमसँगै चलेका अरू ब्रान्डका कपडा पनि बेचिरहे। यसबाट उनको व्यापार धेरै नोक्सानमा गएन।

‘केही समय त मलाई फेरि पहिलेकै व्यवसायमा फर्किने सोच पनि आयो। ब्रान्ड र गुणस्तर बुझाउनै हैरान भयो। केही गरी अघि बढ्ने अवस्था थिएन। तर पछाडि नसरी अडिएर बस्यौं। सफल भयौं,’ उनले भने।

ट्रेकिङ र पर्वतारोहणका लागि मात्र केन्द्रित भएकाले सोनमको लक्षित उपभोक्ता समूह सानै थियो। तर सुरूमा छिटफुट किनेका मान्छे फर्केर आउन थालेपछि सोनमले उचाइ लिन थाल्यो।

यसमा टासीलाई दुइटा कुराले साथ दियो।

पहिलो, उक्लिँदो पर्यटन बजार।

दोस्रो, लगानी सानो भएकाले जोखिम धेरै थिएन, उत्पादन पनि कमै थियो।

‘त्यति बेला पर्यटन बजार बढ्न थालेको थियो। अनि हाम्रो सामान पनि स्थापित हुँदै गयो। विस्तारै बजारमा स्थान बनाउन थाल्यौं,’ उनले भने।

सोनमबाट पछि हटेर अरू ब्रान्डका स्टिकर टाँस्ने व्यापारमा फर्किने सोचबाट माथि उठिसकेका थिए टासी। सोनम पर्यटकमाझ फैलिँदै थियो। एक्कासि २०७२ को भुँइचालोले यो गतिमा ब्रेक लगाइदियो।
उनले भने, ‘हाम्रा ग्राहक नै पर्यटक थिए। तर भुँइचालोले पर्वतीय पर्यटन भताभुंग भयो, पर्यटक घटाइदियो।’

कहिलेकाहीँ विपद पनि अवसर बनेर आउन भने सक्छ!

स्थापना भएको पाँच वर्षसम्म ठमेलमै रमाइरहेको सोनमका लागि त्यहाँबाट बाहिर निस्किने एउटा घुम्ती त्यही भुँइचालो बन्यो। पर्यटन बजार बन्द भएपछि सोनमले स्थानीय बजार तथा सर्वसाधारण आकर्षित गर्न खोज्यो। बाक्ला-पातला ज्याकेट, स्विटर, टिसर्ट, झोला, टोपी, प्यान्ट, हाफप्यान्ट लगायत कपडा बजार पुर्‍यायो।

‘ठमेल बाहिरको प्रतिक्रिया राम्रो आयो। हामीले पनि नेपाली उपभोक्ताका लागि कपडा बनाउन थाल्यौं जुन मन पराइए पनि,’ उनले भने।

नेपालमा यसै पनि ब्रान्डप्रति सतर्कता न्यून छ। त्यस्तोमा कपडाको ब्रान्ड बनाउनु र त्यसलाई स्थानीय बजारमा विस्तार गर्नु चुनौतीपूर्ण छ। तर सोनम यो चुनौतीमा खरो उत्रिने प्रयासमा छ। स्थानीय बजारमा विस्तारित हुने क्रममै रहेको सोनमका अहिलेसम्म १८ वटा आउटलेट र चार वितरक भइसकेको कम्पनीका प्रबन्ध निर्देशक छिमी डोल्कर नेपालीले जानकारी दिइन्।

पर्वतीय क्षेत्रमा जानेका लागि मात्र उत्पादन गर्दा सोनमलाई सहजै थियो, निश्चित मापदण्ड र समूहको ट्रेन्ड र चाहना बुझ्न सजिलो। स्थानीय बजार प्रवेश गरेपछि धेरै काम थपिन्छन्। ठूलो बजारको चाहना र ट्रेन्ड बुझेर उत्पादन ल्याउनुपर्ने दबाब हुन्छ। धेरै उत्पादनसँग एकैपटक प्रतिस्पर्धा गर्नुपर्छ।
सोनमले यसका लागि अहिले डिजाइन टिम नै बनाएको छ। पहिले एक जनाबाट हुँदै आएको यो काममा हाल दुई जना थपिएका छिमीले जानकारी दिइन्।

गुणस्तरमा एकरूपता तथा आकर्षक उत्पादन लिएर स्थानीय बजारमा गएपछि सोनमका लागि अर्को चुनौती हो मूल्य। आमग्राहकका लागि महँगो लाग्ने सोनमका उत्पादन तत्कालै सस्तो हुने सम्भावना छैन।

अहिले पनि ताइवान, कोरिया तथा चीनबाट गुणस्तरीय कपडा ल्याउनुपर्ने र लागत धेरै भएकाले सस्तो हुने अवस्था नरहेको टासीको भनाइ छ। चीनबाट आउने र नेपालमै अरूका स्टिकर टाँसिएका ज्याकेटको तुलनामा केही महँगो भए पनि गुणस्तरमा कुनै तुलना नहुने उनी बताउँछन्।

‘ब्रान्ड र गुणस्तर भएकाले मूल्यले व्यापारमा खासै प्रभाव पार्दैन,’ उनले भने, ‘हामीले नर्थफेसजस्तै उत्पादन गर्ने त होइन। तर उनीहरूकै गुणस्तरको उत्पादन आधा सस्तोमा दिन्छौं। यो गुणस्तर तथा मूल्यका कारण हाम्रो प्रतिस्पर्धा पनि उनीहरूसँगै हो।’

उत्पादन क्षमता विस्तार भएर बजार बढेपछि, अत्यावश्यक कपडा नेपालमै उपलब्ध भएपछि भने मूल्य घट्न सक्ने प्रबन्ध निर्देशक छिमीको भनाइ छ।

हाल वार्षिक ७० करोड रूपैयाँ बढीको कारोबार सोनमको व्यापार प्रत्येक वर्ष बढिरहेको छ। स्थानीय बजारको रूचि र ट्रेन्ड अनुसार उत्पादन बढाउँदै बजार विस्तार गर्ने कम्पनीको रणनीति हो।

सोनम नेपालमा मात्र होइन, विदेशमा पनि विस्तार हुने क्रममा छ। टासीका अनुसार अहिले नै सिक्किम र अष्ट्रेलियामा आउटलेट खुलिसकेका छन् भने क्यानडामा निर्यात भइरहेको छ। विशेषगरी भारतका हिमाली क्षेत्रमा विस्तार योजना कम्पनीको हो।
हामी यही वर्ष विस्तार गर्ने थियौं, कोरोनाले रोकियो। तै पनि अब नयाँ दिल्ली लगायत सहरमा हामी छिट्टै पुग्छौं होला,’ उनले भने।

भुँइचालोपछि ठमेल बाहिर निस्किएको सोनम अहिले स्थानीय बजारको ब्रान्ड बनिसक्यो। अबको दस वर्षमा सोनमलाई संसारका मुख्य बजारमा पुर्‍याइसक्ने विश्वास टासीको छ। अहिले नै वर्षमा अर्ब कारोबारतिर लम्केको कम्पनी योजनाअनुरूप अगाडि बढ्यो भने आगामी दशकमा कयौं गुणा फड्को मार्न सक्नेछ।

‘अहिले जसरी व्यापार भइरहेको छ, मेरो विश्वास छ, अबका दिनमा अझै राम्रो हुने छ। हामीलाई लाखबाट करोडमा पुग्न जति समय लागेको थियो, सायद अर्बको फड्कोका लागि त्यति समय नलाग्ला,’ टासी भन्छन्।

करिब १६ वर्ष कपडा व्यापारमा रुमल्लिएका तासीले अहिले व्यवसायको नेतृत्वमा छोरीलाई अघि बढाएका छन्। आफूले पहिलेको जमानामा व्यापार सुरू गरेर अहिलेसम्म धाने पनि आधुनिक बजारको माग तथा प्रतिस्पर्धा बुझ्न नयाँ पुस्ता आवश्यक हुन्छ भन्ने उनले बुझेका छन्।

‘हामीले त डिजाइन पढेर होइन, आफैं बुझेर सिकेका थियौं। तर अहिले प्रत्येक सिजनमा फेरिने डिजाइनसँग प्रतिस्पर्धा गर्न देश-दुनियाँ बुझेको पुस्ता चाहिन्छ। यो काम युवाले नै गर्न सक्छन्। हामीले सबै तहका काममा युवालाई नै लिइरहेका छौं,’ उनले भने।
स्रोत सेतोपाटी