मौसम चिसिँदै जादा कोरोनाको लहर अझ घातक बन्दै एस्तो उपाय अपनाउनुहोस बच्न सकिन्छ

कोरोना बिशेष

सिरेटो चल्ने ठाउँमा हिँडडुल गर्न हुन्न । धूलो धूवाँ, चिसो र संक्रमणबाट बच्न मास्क लगाउनुपर्छ ।
जाडोमा हरेक वर्ष १७ प्रतिशत मृत्यु स्वतः बढ्छ । हार्वर्ड विश्वविद्यालयको खोज अनुसार, प्रदूषणमा २.५ पीएम कण भएमा कोभिड–१९ बाट हुने मृत्युदर ८ प्रतिशत बढ्छ । क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकले त्यस्ता बिरामी लामो समय प्रदूषणको सम्पर्कमा रहेमा नाइट्रोजन अक्साइड ग्यास तथा अस्पतालमा रहँदा नोसोकोमियल संक्रमणका कारण मृत्यु हुने पत्ता लगाएका छन् ।

शरीरमा सुक्खापन हुने, श्वास–प्रश्वास प्रणालीका कोषिकाहरू कम सक्रिय रहँदा कोरोना भाइरस लामो समय रहने, अन्य समयमा भन्दा प्रतिरोधी शक्ति कम हुने, कम घाम लाग्ने, सामूहिक बसाइ हुने, भिटामिन ‘डी’ को कमीले पनि जाडोमा कोरोना संक्रमण जटिल बन्न सक्ने देखिन्छ । कोरोना संक्रमण गत वर्ष चीनमा जाडो याममै सुरु भएर विश्वभर फैलिएको थियो । जाडो बढ्दै गर्दा र हाल युरोपमा चिसो भएकाले संक्रमण दैनिक तीव्र गतिमा बढ्दै छ र त्यसअनुसार मृत्युको ग्राफ उकालिइरहेको छ ।
जाडोमा कोरोना भाइरस बढी समयसम्म बाँच्ने, सक्रिय रहने, भाइरल लोड बढी हुने, नाक–मुख र घाँटीका कोषिकाहरू सुक्खा रहने भएकाले समस्या बढ्न सक्छ । चिसोमा फ्लु र निमोनियाको समस्या, ब्याक्टेरियल संक्रमणले गर्दा कोरोना संक्रमणमा थप जटिलता हुन सक्छ । झ्याल–ढोका बन्द गरी बस्ने, सामूहिक रूपमा हिटर वा आगो ताप्ने वा गफिने, रोग प्रतिरोधी क्षमतामा कमी हुने गर्नाले कोभिड–१९ यो मौसममा अझ खतरनाक बन्न सक्छ ।

त्यसै पनि बालबालिका, वृद्धवृद्धा, प्रतिरोधी क्षमता कम भएका, दीर्घरोगी (विशेषतः मुटु र दम रोगी) लाई चिसोले सताउने भएकाले कोरोना संक्रमण भए निकै जटिल हुन सक्छ । नेपालमा आउँदो फेब्रुअरीसम्म कोभिड–१९ को दोस्रो लहरमा संक्रमण बढ्न सक्छ । विश्व स्वास्थ्य संगठनले दक्षिण र पश्चिम एसियाली मुलुकमा कोभिड–१९ को दोस्रो लहर आउने भएकाले सावधान रहन यसै साता चेतावनी दिएको छ ।

रुघाखोकी र कोरोना

कोरोना महामारीका कारण मौसमी रुघाखोकीलाई सामान्य मान्ने अवस्था अहिले छैन । स्वाद र गन्ध थाहा नपाउने लक्षण कोभिड–१९ मा मात्र हुन्छ । फ्लुका लक्षणहरू चार दिनभित्र देखिन्छन् भने कोभिड–१९ का लक्षण देखिन पाँचदेखि चौध दिनसम्म लाग्छ । फ्लुका बिरामीलाई पहिलो हप्तामै गाह्रो हुन्छ भने कोभिड–१९ मा दोस्रो हप्तापछि । फ्लुका बिरामीले तीनदेखि सात दिनसम्म रोग सार्न सक्छन् भने कोभिड–१९ का बिरामीले कम्तीमा दस दिनसम्म ।

कोभिड–१९ मा रुघाभन्दा बढी सुक्खा खोकी लाग्छ, १०२ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउँछ र सास फेर्न समस्या हुन्छ । रुघाखोकीको सर्ने दर कोभिड–१९ भन्दा निकै कम हुन्छ । रुघाखोकीले बालबालिका, गर्भवती, वृद्धवृद्धा तथा पहिलेदेखि नै स्वास्थ्य समस्या भोगिरहेकालाई बढी असर गर्छ भने कोभिड–१९ ले हालसम्म बालबालिका र गर्भवतीलाई धेरै असर गरेको पाइएको छैन । सामान्य रुघाखोकीले मानिस मर्दैन, फ्लुले हजारमा एक जनाको मृत्यु हुन्छ भने कोभिड–१९ को मृत्युदर औसत ४ र बढीमा ३० प्रतिशतसम्म देखिएको छ । संक्रमण पनि फ्लुमा १.२ जना छ भने कोभिडमा २ देखि ३ जनासम्म । तथापि मृत्युदर व्यक्तिको उमेर र स्वास्थ्य, परीक्षण र उपचारमा पनि निर्भर हुन्छ ।

चिसोले निम्त्याउने स्वास्थ्य समस्या

जाडोमा रुघाखोकी, भाइरल इन्फ्लुएन्जा, ब्रोङ्काइटिस, दम, श्वास–प्रश्वास, पिनास, निमोनिया, चिसोको एलर्जी, घाँटीको संक्रमण, भाइरल झाडापखाला, छाला फुट्ने/चिलाउने/सुन्निने, सेतो कत्ला निस्कने, छाला सुक्खा तथा फुस्रो हुने, चाउरी पर्ने, अनुहारमा कालो र सेतो दाग हुने, मुटु कमजोर हुने समस्या देखिन सक्छ ।

हातखुट्टाका औंला र कान रातो हुने, चिलाउने, सुन्निने र कहिलेकाहीँ घाउ हुने, दाद, ओठ र हातखुट्टा फुट्ने, शरीर चिलाउने, अपच, पखाला, आउँ जस्ता पाचनसम्बन्धी रोगहरू, हातखुट्टा र जोर्नी सुन्निने पनि हुन सक्छ । चिसोले मुटु, जोर्नी, श्वास–प्रश्वास र दमका पुराना बिरामी, कुपोषित बालबालिकालाई बढी आक्रान्त पार्छ ।

शीतलहरले मुटु र मस्तिष्कमा असर पारी हृदयाघात दोब्बर बढी हुने, कोलेस्ट्रोल बढाउने, पक्षाघात गराउने, सरसफाइको कमीले विभिन्न संक्रमण अनि बालबालिकामा दादुरा र ठेउला पनि हुने हुन्छ । चिसोले रगत बाक्लो बनाउँछ, पातला रक्तनली साँघुरिन्छन् अनि रगतको दबाब बढ्छ, मुटुको चालमा समेत वृद्धि हुन्छ । कोरोनरी धमनीमा कोलेस्ट्रोल जम्छ, धमनी साँघुरो र असमतल हुन्छ अनि रक्त आपूर्ति अपुग भई मुटु दुख्छ । यसलाई ग्यास वा अपच भनी लापरबाही पनि गरिन्छ । रक्त धमनी साँघुरिई मस्तिष्क वा अन्य अंगमा पक्षाघात हुन सक्छ ।

निसासिएर मृत्यु

जाडोमा शरीरलाई न्यानो बनाइराख्न वा आगो ताप्नका लागि बालिने मकल, हिटर, पानी तताउन प्रयोग गरिने गिजरबाट पोलिने तथा झ्याल–ढोका बन्द गरी मकल बाल्दा तथा नुहाउँदा हुने क्षति हरेक वर्ष बढ्दो छ । ग्यास गिजरमा पानी तातिरहँदा कार्बन मोनोअक्साइड ग्यास उत्पन्न हुन्छ । बाथरुममा झ्याल र भेन्टिलेसन राम्रो नभए निसासिएर नुहाउने व्यक्तिको मृत्यु हुन सक्छ । गिजर प्रयोग गर्दा निस्किने प्रोपेन ग्यास भारी भएकाले भुइँमै बस्छ र अक्सिजन कम भएर सीओ ग्यास बन्छ अनि विषाक्तता भई मृत्यु हुन्छ ।

सीओको विषाक्तताबाट बढी प्रभावित हुनेमा मुटुका पुराना रोगी, श्वास–प्रश्वासका बिरामी, रगतको कमी भएका, गर्भवती, गर्भका शिशु र वृद्ध पर्छन् । रगतमा सीओ नाप्न मिल्ने गरी छोटो समय मात्र रहन्छ । रगतमा सीओको मात्रा ३० प्रतिशत पुग्दा टाउको दुख्ने, थकाइ लाग्ने हुन्छ, ४० प्रतिशत पुग्दा बेचैनी बढ्छ । मात्रा ६० प्रतिशत हुँदा मान्छेले चेतना गुमाउँछ, बेहोसी बन्छ र मात्रा ८० प्रतिशत पुग्दा मानिसको मृत्यु हुन्छ ।

बचावट

सिरेटो चल्ने ठाउँमा हिँडडुल गर्न हुन्न । धूलोधूवाँ, चिसो र संक्रमणबाट बच्न मास्क लगाउनुपर्छ । पोषणयुक्त र सन्तुलित खाना, तातो र झोलयुक्त खाद्य पदार्थ, मौसमी फलफूल र सागसब्जी प्रशस्त खानुपर्छ । खुला ठाउँमा नजाने, वातावरणलाई न्यानो बनाउने र आफैं सचेत भएर बस्ने गर्नुपर्छ । भिटामिन ‘सी’ युक्त फलफूल सुन्तला, कागती, अमला, अम्बा सेवनमा जोड दिनुपर्छ । स्वास्थ्य तथा सरसफाइमा बढी ध्यान दिनुपर्छ । रोग लागेका व्यक्तिबाट टाढै बस्ने, धूमपान र मद्यपानबाट परै बस्ने गर्नुपर्छ ।
स्रोत ekantipur

माक्सको सही प्रयोग र गलत प्रयोग कसरी यो भिडियो हेर्नुहोस 

Leave a Reply

Your email address will not be published. Required fields are marked *